तपाईँ सुन्दै हुनुहुन्छः

नियमित महाधिवेशनका लागि बृहत् युवा विद्यार्थी भेलाको आयोजना

काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत् युवा विद्यार्थी भेला आयोजना गरेको छन् ।

भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबन्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो । 

अधिकांश वक्ताहरूले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button