तपाईँ सुन्दै हुनुहुन्छः

अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छः विनोद भण्डारी

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन् ।

लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए । “सुदूरपश्चिम साविक उपविजेता टोली समेत हो,” उनले भने, “अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो ।

त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौँ ।” लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । उनले ‘प्लेयर अफ दी म्याच’ पाए ।

त्यसैगरी लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीका कप्तान रोहित पौडेलले बाँकी खेलमा राम्रो गर्दै प्लेअफमा पुग्ने दाबी गरे । उनले भने, “अब हामीले तीन खेल खेल्न बाँकी छ । ती खेलहरूमा जित निकालेर प्लेअफमा पुग्छौँ भन्ने विश्वास छ ।” सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अङ्कका साथ शीर्ष स्थानमा छ । चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अङ्कसहित छैटौँ स्थानमा छ । लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button