तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका स्नातक बेरोजगारलाई मासिक दुई हजार भत्ता : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशका स्नातक तह उत्तीर्ण गरेर रोजगारी नपाएका शिक्षित बेरोजगार युवालाई मासिक भत्ता दिने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा स्नातक उत्तीर्ण गरेर रोजगार पाउन नसकेका १८ वर्षदेखि ३५ वर्षका युवाहरूलाई मासिक २ हजार जीवन निर्वाह अर्थात् बेरोजगारी भत्ता दिने बुधवार बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको बताउनुभयो ।

यसका साथै असमयमा भएको मोन्था वर्षाका कारण धानवाली डुबान भएका कारणले ठूलो क्षति बेहोरेको बताउँदै डुबानबाट पीडित बनेका किसानलाई प्रतिकट्ठा १ हजार ५ सयका दरले राहत रकम दिने जानकारी दिनुभयो ।

उहाँले मन्त्रीपरिषद्को बैठकमा यी दुई प्रस्ताव लगे पनि सर्वोच्च अदालतले मधेस सरकारलाई दीर्घकालीन असर पर्ने तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी करेका कारण निर्णय गर्न नसकेको बताउँदै नेपालका उखु किसानलाई प्रति क्विन्टल ७० प्राप्त गर्दै आएकोमा आर्थिक वर्ष २०८०–०८१ बाट प्राप्त गर्न नसकेकाले उपलब्ध गराउनका लागि नेपाल सरकारसँग माग गर्नुभयो ।  

मुख्यमन्त्री यादवले स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पताल मलंगवाको मेसुको नियुक्तिमा भएको चलखेललाई रोक्न र सचिवलाई कारबाही गर्न प्रमुख सचिवलाई निर्देशन दिएको जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम बनेको यादव नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन समिति गठन गर्ने निर्णय गरेको थियो भने नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम प्रदेशभित्र रासायनिक मलको आपूर्ति र वितरणलाई पारदर्शी एवं नतिजामुखी बनाउने निर्णय गरेको थियो ।

कोटा अनुसारको मल नउठाउने र पारदर्शी रुपमा वितरण नगर्ने माथि कानूनी कारबाही गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मधेश प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री लखन दास तत्मा र वन तथा वातावरणमन्त्री कञ्चन विच्छा उपस्थित रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button