रामकलेवासंगै श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको सातौँ तथा अन्तिम दिन जनकपुरधाममा आज रामकलेवा विधि सम्पन्न भएको छ ।

भगवान् श्रीराम तथा माता सीताका बीचमा शुभ विवाह सम्पन्न भएको भोलीपल्ट भारतबाट आएका जन्ति सहितका व्यक्तिहरूलाई रामकलेवा स्वरूप भोजन गराउने चलन रहेको छ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको रामकलेवामा भारत तथा नेपालका विभिन्न भागबाट आएका साधु सन्त, महन्थ, योगी तथा सन्यासी सहितका जन्तीहरूको सहभागिता थियो ।
रामकलेवामा ५६ प्रकारका व्यञ्जन तयार पारेर भगवान् श्रीरामसहित चारै दुलहा तथा जन्तीहरूलाई खुवाउने चलन रहेको छ । जनकपुरधाममा मङ्सिर ४ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन रामकलेवासंगै सम्पन्न भएको छ ।

रामकलेवा विधि हेर्नका लागि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू जानकी मन्दिर परिसरमा सहभागी रहनुभएको थियो । रामकलेवामा मिथिलानीहरुले विभिन्न प्रकारका गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए । रामकलेवा विधिको समन्वय जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गर्नुभएको थियो ।
रामकलेवामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि पनि सहभागी भएर जन्तीलाई स्वागत सत्कार गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्