तपाईँ सुन्दै हुनुहुन्छः

लालझाडीमा अपाङ्गता पहिचान शिविर : २५९ जनाको स्वास्थ्य परीक्षण, २० जनामा अपाङ्गता पहिचान

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क अपाङ्गता पहिचान शिविरमा २५९ जनाको स्वास्थ्य परीक्षण गरिँदा २० जनामा अपाङ्गता पहिचान गरिएको छ । युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्युए) को प्राविधिक सहयोगमा लालझाडी गाउँपालिकाले एक दिवसीय निःशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

लालझाडी गाउँपालिका वडा नम्बर ३ मा रहेको आधारभूत अस्पताल नन्दगाउँमा भएको शिविरमा शारीरिक, आँखा तथा कानसम्बन्धी अपाङ्गता पहिचानलाई प्राथमिकता दिइएको थियो । शिविरमा ज्येष्ठ नागरिक, विपन्न, अशक्तदेखि विद्यार्थीसमेत सहभागी भएर स्वास्थ्य परीक्षण गराउनु भएकाे एनएनएसडब्ल्युएद्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरूले जानकारी दिनुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले अपाङ्गता पहिचान, अभिलेखीकरण र सेवा पहुँचलाई व्यवस्थित बनाउन यस्ता शिविर अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सामाजिक न्यायको आधार समावेशी शिक्षा भएकाले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने स्पष्ट पार्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले विगतका वर्षमा सञ्चालन गरिएका शिविरमार्फत पहिचान भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको उल्लेख गर्दै यसपटक थप वास्तविक अपाङ्गता पहिचानमा विशेष जोड दिइएको बताउनुभयो ।

त्यसै गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले स्थानीय तहका सेवा प्रवाहमा यस्ता स्वास्थ्य शिविरले पूरक भूमिका खेलेको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज वातावरण निर्माणमा संस्थागत सहकार्य अझ सुदृढ बन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य परीक्षण गराएका लाभग्राहीहरूले गाउँमै निःशुल्क सेवा पाएकोमा खुसी व्यक्त गर्दै यस्ता शिविर नियमित सञ्चालन हुनुपर्नेमा जोड दिनु भएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button