अटोरिक्साले बदलेको नरैनापुरको दैनिकी, आवागमनसँगै आर्थिक गतिविधि बढ्यो
बाँके । बाँकेको दुर्गम क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिकामा अटोरिक्सा सञ्चालन सुरु भएपछि गाउँको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ। वर्षौँसम्म सवारीसाधनको अभावमा पैदल वा साइकलमै निर्भर रहनु परेको यहाँका बासिन्दा अहिले अटोरिक्सामार्फत सहज रूपमा बजार, कार्यालय र अस्पताल पुग्न थालेका छन्।
पहिले बिहान–बेलुका मात्र चल्ने सीमित बस सेवाका कारण यात्रुहरू समस्यामा पर्ने गर्थे। बिहानको बस छुटे नेपालगञ्ज पुग्न दिनभर पर्खिनुपर्ने अवस्था थियो। अहिले भने बिहानदेखि बेलुकीसम्म अटोरिक्सा नियमित रूपमा चल्न थालेपछि आवागमन सहज बनेको छ।
नरैनापुर–२ का कलिम खान भन्छन्, “अब अटोरिक्सा सजिलै पाइन्छ, नेपालगञ्ज जान समयमै पुगिन्छ।” हुलाकी सडक पक्की बनेसँगै अटोरिक्सा सेवा तीव्र रूपमा विस्तार भइरहेको स्थानीयको भनाइ छ।
नरैनापुर–५ जमुनीगाउँका रामबहादुर थारुका अनुसार पहिले नेपालगञ्ज पैदल वा साइकलमा जाँदा घण्टौँ लाग्थ्यो, अहिले २०–३० मिनेटमै पुगिन्छ। गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँया जस्ता टाढाका वडासम्म अटोरिक्सा पुग्न थालेपछि सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।
विद्यालय जाने विद्यार्थी, बिरामी, कर्मचारीदेखि गृहिणीसम्मका लागि अटोरिक्सा दैनिकीको महत्वपूर्ण साधन बनेको छ। अटोचालक जाकिर अलीका लागि यसले गाउँमै रोजगारी र आम्दानीको अवसर दिएको छ। चार सिट क्षमताका अटोरिक्साले सीमावर्ती क्षेत्रमा प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्रसम्म रु २०० भाडा लिने गरेका छन्।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार अटोरिक्सा सञ्चालनले गाउँमा आर्थिक गतिविधि बढाएको, बजार विस्तार भएको र सेवा पहुँच सहज बनेको छ। स्थानीयवासीहरू नरैनापुर दुर्गमबाट सुगमतर्फ अघि बढिरहेको बताउँदै भविष्यमा अझ आधुनिक बन्दै जाने आशा व्यक्त गर्छन्।








प्रतिक्रिया राख्नुहोस्