मुन्धुम संस्कृतिविद् तथा साहित्यकार बैरागी काइँला सम्मानित

काठमाडौँ । मुन्धुम संस्कृतिविद्, याक्थुङ–लिम्बू भाषा र बौद्धिक इतिहासका धरोहर मानिने तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ लाई आज यहाँ आयोजित एक कार्यक्रमकाबीच सम्मानित गरिएको छ ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा आज यहाँ आयोजित आबाला बह्म चारी षडानन्दको १५१ जयन्ती एवं १८ औँ वार्षिकोत्सव तथा षडानन्द पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार रु एक लाख, दोसल्ला र सम्मानपत्रबाट बैरागी काइँलालाई सम्मानित गरिएको हो ।
यसैगरी षडानन्द क्षेत्रीय पुरस्कारबाट नेवारी संस्कृति, भाषा तथा बाड्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई रु ५१ हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । योग तथा तन्त्रविद् प्रा विद्यानाथ उपाध्याय भट्टले बैरागी काइँला र काशीनाथ तमोटलाई सम्मानपत्र प्रदान गर्नुभयो । साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा उहाँले पुर्याएको योगदान अद्वितीय रहेको भट्टको भनाइ छ ।
उहाँले भन्नुभयो, “सम्मानित भएका व्यक्तिहरू संस्कृति, भाषा तथा बाड्मय क्षेत्रमा प्रकाशस्तम्भझैँ बनेका छन् । उहाँहरूको जीवनपर्यन्त योगदानलाई कदर गर्दै सम्मानित गर्न पाउनु हाम्रो गर्व हो ।” उहाँले नेवारी ऐतिहासिक भाषिक संरचना, लिपि तथा संस्कृतिमा तमोटको योगदान उच्च रहेको बताउनुभयो ।
तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ ले आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “याक्थुङ–लिम्बू भाषा, लोक साहित्य तथा मुन्धुम संस्कृतिको संरक्षण, शिक्षा र प्रवर्द्धनका लागि जीवन समर्पित गरेको भावनालाई आज सम्मान गरिएकोमा म अत्यन्त खुसी छु । भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान दिने सबैले यस्ता अवसर पाउनु आवश्यक छ ।”
काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आउनुभएको छ । उहाँका कृति तथा अध्ययनहरूले पूर्वी नेपालको सांस्कृतिक इतिहास र याक्थुङ समुदायको पहिचानलाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमले संस्थाले भाषिक, साहित्यिक तथा सांस्कृतिक योगदानकर्तालाई बर्सेनि सम्मानित गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो मूल उद्देश्य भाषा, साहित्य, शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हो । योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन र कदर प्रदान गर्नु नै हाम्रो निरन्तर अभ्यास हो ।”
उहाँका अनुसार प्रतिष्ठानले आगामी वर्षहरूमा पनि राष्ट्रिय तथा क्षेत्रीय योगदानकर्ताहरूको पहिचान, अध्ययन, दस्तावेजीकरण र सम्मान–पुरस्कार कार्यक्रमलाई अझ विस्तार गर्ने योजनासमेत अघि सारेको छ ।
कार्यक्रममा षडानन्द सिताराम गुठीको वर्तमान अवस्थाको अध्ययन प्रतिवेदन समेत लोकार्पण गरिनुका साथै दाता महानुभावहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
उक्त समारोहमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय विद्वान्, अनुसन्धानकर्ता, लेखक, विद्यार्थी तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रमका बीचमा षडानन्दको जीवन, आध्यात्मिक साधना, योग, तन्त्र तथा उनका सामाजिक–शैक्षिक योगदानबारे कार्यपत्र प्रस्तुति, सांस्कृतिक झाँकी र काव्यात्मक सम्मान कार्यक्रम पनि गरिएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्