तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान: विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

विराटनगर। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भसँगै विराटनगरमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मङ्गलवार विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका सामाजिक कार्य (सोशल वर्क) विषयका विद्यार्थीहरूसँग लैङ्गिक हिंसाका विभिन्न पक्षबारे छलफल गरिएको हो। ओरेक नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा संस्थाले गरिरहेका गतिविधि, लैङ्गिक हिंसाका प्रकार तथा कोशी प्रदेशमा बढ्दै गएको लैङ्गिक हिंसाको वास्तविक अवस्था सम्बन्धी तथ्याङ्क विद्यार्थीहरूमाझ प्रस्तुत गरिएको थियो।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान सञ्चालन हुँदै आएको छ। सोही अवसर पारेर विद्यार्थीहरूलाई सचेतना र अध्ययन–अनुसन्धानमा उपयोगी हुने जानकारी प्रदान गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।

कार्यक्रममा सहभागी छात्रा लक्ष्मी श्रेष्ठले, “आजको विषयवस्तुले भविष्यमा रिसर्च गर्न सजिलो र व्यवस्थित दृष्टिकोण विकास गर्न मद्दत गर्छ,” भन्ने प्रतिक्रिया दिनुभयो। यस्तै, प्राध्यापक माधव खतिवडाले १६ दिने अभियानबारे प्राप्त सूचनाले सामाजिक कार्यका विद्यार्थीलाई अनुसन्धान प्रतिवेदन (रिसर्च रिपोर्ट) तयार गर्न महत्त्वपूर्ण आधार बन्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रदेशमा लैङ्गिक हिंसा वृद्धि हुँदै गएको तथ्य सुनेपछि यसको विरुद्धमा व्यक्तिगत र सामुदायिक तहबाटै सक्रिय हुने प्रतिबद्धता जनाउनुभयाे।

समाजमा गहिरोसित जरा गाडिरहेको लैङ्गिक विभेद अन्त्य गर्न युवा पुस्ताको सृजनशील भूमिका अपरिहार्य भएकाले अभियानको शुभारम्भ क्याम्पसका सामाजिक कार्य विषयका विद्यार्थीबिचबाट गरिएको ओरेक नेपालका कार्यक्रम अधिकृत श्रीती सावदले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button