तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक ईश्वरी ताल सिँचाइ र पर्यटनको केन्द्र बन्दै

नेपालगञ्ज। बाँकेको जानकी गाउँपालिकामा करिब छ दशक पहिले सिँचाइका लागि निर्माण गरिएको ऐतिहासिक ईश्वरी ताल अहिले खेती मात्र होइन, पर्यटन र जैविक विविधताको आकर्षक केन्द्रको रूपमा विकसित हुन थालेको छ । करिब ४० कट्ठा क्षेत्रफलमा फैलिएको ताल अवलोकन गर्न पुग्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

जानकी गाउँपालिकाको वडा नम्बर-५ स्थित पुरानो ईश्वरी ताल विसं २०२४ मा सिँचाइको उद्देश्यले निर्माण गरिएको हो । तालले आज पनि गाउँको कृषि जीवनलाई सम्हालिरहेको छ । समयसँगै यसको पहिचान बदलिँदै गएको छ—अब यो ताल केवल पानी सङ्कलन केन्द्र मात्र होइन, अवलोकनका लागि आउनेको सङ्ख्या बढ्दा पर्यटकीय गन्तव्य पनि बन्दै गएको छ । स्थानीय सावितराम यादवले तालले सिँचाइसँगै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

सिक्टा सिँचाइ आयोजनाबाट आउने पानी यही तालमा जम्मा भई १ करोड २० लाखको लागतमा निर्माण भएको करिब ४०० मिटर लामो कुलोमार्फत गाउँको चारै दिशाका खेतबारीमा पुग्दछ । यसले वर्षैभरि कृषि उत्पादनमा निरन्तरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यस बाहेक पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीयको आर्थिक स्रोत पनि बढ्ने अर्का एक स्थानीय जाबिर मनिहारको भनाई छ ।

जानकी गाउँपालिकाको पहलमा अहिले संघीय सरकारबाट प्राप्त बजेटले ताल सौन्दर्यीकरण र मर्मतसम्भारको काम भइरहेको छ । ईश्वरी ताललाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तालको संरक्षण र सम्बद्र्धनमा लागिपरेको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले बताउनुभयो ।

मौसम अनुसार विभिन्न प्रजातिका चरा–चुरुङ्गी पनि आउने हुँदा ईश्वरी ताल जैविक विविधताको सजीव आश्रय स्थलको रूपमा पनि परिचित हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button