पुर्न थालियो पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी

गण्डकी । ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको मर्मत सम्भार सुरु गरिएको छ ।
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्कीको फेदीदेखि नयाँ पुल र नयाँ पुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मत सम्भारको काम सुरु गरेको हो ।
अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले बताउनुभयो । गत बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकामा अब छिट्टै उक्त समस्या हट्ने उहाँको भनाइ छ । शिवालय निर्माण सेवामार्फत सडक मर्मत सम्भारको काम अगाडि बढाइएको सब इन्जिनियर पौडेलले बताउनुभयो ।
बर्खायाम सकिए लगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेका कारण काम केही ढिलो सुरु भएको कार्यालयले जनाएको छ । सडक धेरै ठाउँमा बिग्रेकाले मर्मत सम्भारमा छुट्टिएको बजेटको अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताउनुभयो । बजेटले भ्याएसम्मको काम समयमा नै हुने उहाँको भनाइ छ ।
कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको जनाइएको छ । ठाउँ ठाउँमा सडक बिग्रँदा सहज र निर्बाध रूपले सवारीसाधन चलाउन सक्ने अवस्था अहिले छैन । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्ने गरेका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्