सरकारले घाइते र मृतकको योगदान खेर जान दिँदैन : मन्त्री खरेल
दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ ।

आज दोलखाको कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले अहिलेको सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको बताउनुभयो ।
आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउँदै उहाँले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो ।
उहाँले सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने बताउनुभयो । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने बताउनुभयो ।
मन्त्री खरेलले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
तस्वीरः गोरखापत्र अनलाइन








प्रतिक्रिया राख्नुहोस्