स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य नीति आवश्यक : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको समग्र स्वास्थ्यको अवस्थामा सुधारका लागि स्वास्थ्य नीति बनाउन विज्ञहरूसँग आग्रह गर्नुभएको छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा आज सम्पन्न भएको तीन दिवसीय वार्षिक समीक्षा कार्यक्रममा उहाँले स्वास्थ्य नीतिको निर्माणका लागि प्रदेश सरकारबाट पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।
मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकास तथा सुधारका लागि तीनै तहको सरकारका बीचमा सहकार्य आवश्यक रहेको बताउँदै मधेश प्रदेशमै उत्कृष्ट तथा नमूना स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका पालिकालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका १३६ पालिका मध्ये उत्कृष्ट स्वास्थ्यको कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गर्नुभयो ।
यसै गरि मुख्यमन्त्रीले दोस्रो स्थान प्राप्त गरेका सर्लाहीकै हरिपुर नगरपालिका र तेस्रो स्थान प्राप्त गर्ने सर्लाहीकै विष्णुपुर गाउँपालिकालाई सम्मानित गर्नुभयो । प्रादेशिक अस्पतालमध्ये गौर अस्पताल प्रथम स्थान प्राप्त गरेको छ भने जलेश्वर दोस्रो तथा सिरहा तेस्रो स्थान प्राप्त गरेको छ । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् ।
यसै गरि आयुर्वेद तर्फ पर्सा जिल्ला प्रथम, बारा द्वितीय तथा महोत्तरी तृतीय भएको छ । संस्थागत अस्पतालमा बर्दिबास अस्पताल प्रथम भएको छ । पुरस्कृत सबैलाई मुख्यमन्त्री सरोज कुमार यादवले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरेको छ । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका विज्ञहरू, दातृ निकायका प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेका थिए ।







प्रतिक्रिया राख्नुहोस्