सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० मतदाता थपिए
कैलाली । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० मतदाता थपिएका छन् । फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन तोकिएपछि असोज १० गतेदेखि शुरु भएको मतदाता नामावली दर्ता अनुसार मङ्सिर ५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० मतदाता थपिएका सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा २९ हजार ४३९ जना राष्ट्रिय परिचयबाट आवद्ध भएका छन् भने १६ हजार ५८१ जना कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । यो समयमा सबै भन्दा बढी कैलालीमा १८ हजार २१३ जना मतदाता थपिएका छन् भने सबै भन्दा कम बाजुरामा १ हजार ५१७ जना मतदाता थपिएका छन् ।
कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र डडेल्धुरामा १ हजार ८९२ जना मतादाता थपिएका सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
४६ हजार २० जना मतदाता थपिएसँगै सुदूरपश्चिम प्रदेशमा १७ लाख, २० हजार २० मतदाता पुगेका निमित्त प्रमुख भट्टले बताउनु भयो । यस अघि सुदूरपश्चिम प्रदेशमा १६ लाख ७४ हजार मतदाता रहेका थिए । निर्वाचन आयोगले गएको असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ताका लागि आव्हान गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्