विश्व बैङ्कको आर्थिक सहयोगमा उदयपुर सदरमुकाम गाईघाटमा सडक कालोपत्रेको काम तीव्र
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा सडक कालोपत्रेको काम तीव्र रुपमा अघि बढाइएको छ । सदरमुकाम गाईघाट बजारका करिब १५ किलोमिटर सडकको कालोपत्रेको तीव्र रूपमा अघि बढेको हो ।
विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोडको लागतमा निर्माणाधीन सडकको कालोपत्रेको काम तीव्र रूपमा अघि बढाइएको हो ।
विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेको काम सुरु गरेको हो ।
नगरको महत्त्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणका लागि विश्व बैंकले दिएको सहयोगलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको थियो । नगरभित्र पर्ने दुई राजमार्गहरू मदन भण्डारी र सगरमाथा राजमार्गलाई जोड्दै बजार एरियाका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोडका रुपमा निर्माण गरिएका सडक कालोपत्रे सुरु भए पछि गाईघाट बजार धुलो मुक्त हुने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
नगरको ४ वटा वडाका ९ सडकलाई दुई प्याकेज गरि टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिब १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिब ५ किलोमिटर सडक निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको थियो । कुल १५ किलोमिटर सडकलाई ६६ करोड ११ लाख १ सय ४० (पीएस र भ्याट सहित ) रुपैयाँमा पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरि आशिष – आशीर्वाद – स्वामी नारायण जेभीले ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्