बल्ल हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण
खोटाङ।हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । वडा नं ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको थियो ।
निर्माण कम्पनीले प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको हो ।
स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले शनिबार औपचारिक रूपमा शिलान्यास गर्नुभएको छ । नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम मानिएको बताउनुभयो ।
नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले रु एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी निःशुल्क जग्गा दिनुभएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आआफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहले यसअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।








प्रतिक्रिया राख्नुहोस्