प्राडा जोशीद्वारा द्वाल्खा भाषामा लिखित दुई कृति लोकार्पण
काठमाडौँ । प्राडा श्याम जोशीद्वारा द्वाल्खा भाषमा लिखित दुई वटा कृति लोकार्पण गरिएको छ । द्वाल्खा भाषाको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएका उपन्यास ‘खोसु दुपानय निबार’ र कथासङ्ग्रह ‘थोंसी बोस’ आज यहाँ आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाले पुस्तकहरूको मूल्याङ्कनसहित चर्चा गर्दै लेखक प्राडा जोशीले द्वाल्खा भाषा र संस्कृतिलाई साहित्यिक स्वरूपमा प्रस्तुत गरेर भाषा संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको बताउनुभयो ।
प्राडा जोशीका कृतिहरूले केवल कथा–वस्तु मात्र नभई एक मौलिक भाषाको गहिरो पहिचान र सन्देश पनि पाठकसमक्ष पुर्याउन सफल भएको उपकुलपति निभाले बताउनुभयो । द्वाल्खा भाषामा सृजना हुँदै आएका साहित्यिक कृतिहरूमध्ये यी पुस्तकहरू विशेष योगदानका रूपमा हेरिएको उहाँले उल्लेख गर्नुभयो ।
भाषाविद् प्राडा दानराज रेग्मीले आज लोकार्पण गरिएका दुवै कृतिको प्रशंसा गर्दै द्वाल्खा भाषालाई बुझ्न र अध्ययन गर्न इच्छुक पाठकका लागि यी पुस्तकहरू महत्वपूर्ण स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
द्वाल्खा भाषामा लामो समयदेखि अनुसन्धान र सृजनामा संलग्न लेखक प्राडा जोशीले लोकार्पण समारोहमा आफ्नो लेखन यात्रा र कृतिहरू लेखनका पछाडिका प्रेरणाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले उपन्यास ‘खोसु दुपानय निबार’ मा द्वाल्खा समुदायको जीवनशैली, संस्कार र सामाजिक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको उल्लेख गर्नुभयो । साथै कथासङ्ग्रह ‘थोंसी बोस’ मा विविध सामाजिक परिवेशका भिन्नभिन्न कथाहरू समेटिएको उहाँले जानकारी दिनुभयो ।
समारोहमा लेखक प्राडा जोशीलाई रुपा फाउन्डेसनका पदाधिकारीले दोसल्लासहित सम्मान गर्नुभएको थियो । काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा साहित्य, भाषा, संस्कृति र शिक्षाका विज्ञको उपस्थिति उल्लेख्य थियो ।
द्वाल्खा भाषामा सिर्जना भएका यी कृतिहरू भाषिक विविधताको संरक्षणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएका वक्ताहरूले बताउनुभएको थियो । यस्ता साहित्यिक प्रयासले मौलिक भाषाको पहिचान, संरक्षण र उपयोगमा नयाँ ऊर्जा प्रदान गर्ने लेखक तथा विज्ञहरूले विश्वास व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्