तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह ऐनमा संशोधन आवश्यक: मुख्यमन्त्री शाह

बाजुरा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक नियुक्ति प्रक्रिया यही मंसिर महिनाभित्र टुङ्गिने बताउनुभएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले प्रदेशभरका अस्पताल, खेलकुदलगायतका निकायमा ढिलाइ भएको राजनीतिक नियुक्ति प्रक्रिया अन्ततः यथाशीघ्र पूर्ण हुने स्पष्ट पार्नुभयो। बाजुरा जिल्ला अस्पताल शय्याको अभाव भए पनि प्रदेशस्तरीय अस्पताल भएकाले सेवाको दायरा बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले अस्पतालमा तत्काल थप जनशक्ति, उपकरण र बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो। 

त्यस्तै जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई नीतिगत र संस्थागत सुधारमा जोड दिँदै सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्न खुला संवाद आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रदेश सरकारले ल्याउन लागेको स्थानीय तह ऐनले कर्मचारी भर्ना तथा सेवा प्रवाहमा स्थानीय तहको अधिकार कमजोर हुने आरोप लगाउँदै तत्काल संशोधनको माग गर्नुभयो। सो विषयमा मुख्यमन्त्री शाहले आफू हुँदासम्म आन्दोलन र नाराबाजी गर्न नपर्ने वातावरण बनाइने उल्लेख गर्नुहुँदै ऐनका केही दफा संशोधन आवश्यक भएकाले नियमावली हालसम्म नटुङ्गिएको स्पष्ट पार्नुभयो। 

मुख्यमन्त्री शाहले भर्खरै सभामुख, समिति सभापति र मन्त्रालयका सचिवहरूबिच भएको छलफलपछि सदन खुलाउने तथा मन्त्रिपरिषद्बाट ऐन संशोधन अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। सदन चलिरहेको अवस्थामा अध्यादेशमार्फत प्रक्रिया अघि बढाउन नसकिने भएकाले ढिलाइ भएको उहाँको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख तथा प्रमुख, सरकारी कार्यालयका प्रमुखहरू र सुरक्षा निकायका प्रतिनिधिहरूले कार्य प्रगति, समस्या र सम्भावनाबारे धारणा राख्नुभएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button