तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।  

पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

आज सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले  १०८ रनको शतकीय साझेदारी गरेका थिए ।

पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button