स्वास्थ्य सूचकाङ्कमा सुधार जरुरी : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले स्वास्थ्य क्षेत्रको सूचकाङ्क सुधार गर्नका लागि स्वास्थ्यकर्मीहरुले अझ बढी इमानदारीपूर्वक काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा शुरु भएको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले खाद्यान्न उत्पादन तथा खाद्य सुरक्षाको दृष्टिकोणले मधेश प्रदेश सुरक्षित भए पनि यसै ठाउँमा ५ वर्ष मुनिका बालबालिका बढी कुपोषित हुनु दुःखद भएको बताउनुभयो ।
मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सुधारका लागि भौतिक पूर्वाधारको निर्माणले मात्र हुन नसक्ने बताउँदै निर्माणमा भएका साना योजनाहरूको बजेट कटौती गरेर भएपनि स्वास्थ्यको सूचकमा सुधार गर्नका लागि गर्नु पर्ने काममा विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले जेन्जी पुस्ताको आन्दोलनसँगै सबै क्षेत्रमा सुधारको आवश्यकता रहेकाले स्वास्थ्य क्षेत्रमा पनि परिवर्तनको खाँचो औँल्याउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य सचिव डा. ओम प्रसाद अर्यालले मधेश प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा गरिनुपर्ने सुधारका लागि रणनीति बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
प्रदेशका स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेले शीतलहरबाट आम नागरिकलाई जोगाउने विषयमा सजगता अपनाउन जरुरी रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले मधेश प्रदेश खाद्यान्नको दृष्टिकोणले समुन्नत प्रदेश भए पनि यसै ठाउँमा धेरै बालबालिकाहरू कुपोषित हुनु तथा गर्भवती महिलामा रक्त अल्पता बढी हुनु चिन्ताको विषय भएको बताउनुभयो ।
तीन दिनसम्म चल्ने वार्षिक समीक्षामा मधेश प्रदेशमा रहेका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका प्रादेशिक अस्पताल, शिक्षण कलेजहरू, स्वास्थ्य कार्यालयहरू, आयुर्वेदका जिल्ला स्थित कार्यालयहरू तथा नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरूका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र सुधारका विषयमा छलफल तथा बहस हुने छ ।








प्रतिक्रिया राख्नुहोस्