तपाईँ सुन्दै हुनुहुन्छः

‘अध्यागमन नीतिमा सुधार आवश्यक’

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले बढ्दो सुरक्षा चुनौतीलाई  ध्यानमा राखी अध्यागमन सम्बन्धी नीति अद्यावधिक गर्नुपर्ने बताउनुभएको छ । 

संसद् सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकमा अध्यागमन ऐन २०४९ र त्यस अन्तर्गतका प्रत्यायोजित विधायन माथिको छलफलमा सांसदहरूले अध्यागमनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

बैठकमा विज्ञका रूपमा आमन्त्रित संविधानसभा सदस्य खिमलाल देवकोटाले प्रत्यायोजित विधान र ऐनबीचको समस्या पहिचान गरी छिटो समस्या समाधानका उपायहरूको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै पूर्व मुख्यसचिव शंकरदास बैरागीले वैदेशिक रोजगारी, भिजिट भिसा र अध्यागमनमा देखिएका समस्या समाधानका लागि नीतिगत स्पष्टता तथा प्रविधि–मैत्री प्रणालीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन विभागको संरचनागत सुधारमा जोड दिनुपर्ने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरेले अनधिकृत पासपोर्ट र भिसाको दुरुपयोग रोकथामका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button