तपाईँ सुन्दै हुनुहुन्छः

पाख्रिबासमा हाईस दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते

धनकुटा। धनकुटाको पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा भएको यात्रुवाहक हाईस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

शुक्रवार बिहान काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोसी हाईस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएकी सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीय सावित्रा कालाखेतीको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अन्य १४ यात्रु घाइते भएका छन्। जसमा चालक दीपेन्द्र बुढाथोकी सहित ३ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइतेको धनकुटामा उपचार हुन नसकी सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने अन्य ११ जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना भएपछि इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाख्रिबासका इन्चार्ज नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button