तपाईँ सुन्दै हुनुहुन्छः

सिमरा क्षेत्रमा लगाइएको कर्फ्यु राति ८ः०० बजेपछि हट्यो

वीरगञ्ज  । बाराको जितपुर सिमरा क्षेत्रमा आज दिउँसो १ः०० बजेदेखि घोषित कफ्र्यू आदेश अहिले राति ८ः०० बजेबाट हटाइएको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ः०० बजेदेखि जारी गरेको कफ्र्यू आदेश राति ८ः०० बजेसम्म कायम रहेको थियो । तर यहाँको जनजीवन साँझदेखि सामान्य हुँदै गएसँगै कर्फ्यु हटाइएको छ । 

बाराका सहायक प्रमुख जिल्ल अधिकारी एवं सूचना अधिकृत छबिरमण भट्टराईले जिल्ला सुरक्षा समितिको आज राति ८ः०० बजे बसेको बैठकले कफ्र्यू आदेशको समय थप नगरेको र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आगामी कदम चाल्ने निर्णय गरेको बताउनुभयो ।

जेनजी समूहका प्रदर्शनकारीहरूले अपराह्न ५ः०० बजेपछि आजको प्रदर्शन स्थगित गरेर सडक खाली गरेसँगै साँझदेखि पथलैया–वीरगञ्ज सडक खण्डमा सवारी साधनहरू सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । 

जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले बाराका जेनजी समूहका अगुवाहरूलाई छलफल तथा वार्ताका लागि बोलाएको भए पनि आवश्यक तयारीका साथ भोली वार्तामा आउने जानकारी आफूलाई प्राप्त भएको उहाँले बताउनुभयो ।

दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जिल्ला सुरक्षा समितिबाट निर्णय भइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी मिश्रले जेनजी अगुवाहरूसँग छलफल गर्न स्थानीय प्रशासन तयारी अवस्थामा बसेको बताउनुभयो । 

यसैबीच बाराका जेनजी अगुवा अविनाश अधिकारीले भोलि शुक्रवार बिहान १०ः०० बजे पुनः आन्दोलन गर्ने गरी बिहीबारको आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो । 

जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षहरू ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारीलाई पक्राउ गरिसकेको छ ।

जेनजी समूहले आफूहरूलाई आक्रमण गर्ने प्रमुख आरोपी अरविन्द साह फरार रहेको र उनलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेकोमा प्रहरीले साहलाई आज साँझ नियन्त्रणमा लिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । 

आक्रमणपछि फरार रहेका साह पक्राउ पर्नु र पक्राउ परेका अन्य दुई जनालाई समेत अदालतबाट म्याद थप गरी आवश्यक कारबाही अगाडी बढाइएपछि आन्दोलनकारी समूहसँग भोली वार्ता हुने विश्वास स्थानीय प्रशासनले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button