तपाईँ सुन्दै हुनुहुन्छः

देशको पछिल्लो सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सुरक्षा परिषद् बैठकमा छलफल

निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल भएको छ ।

सिंहदरबार स्थित परिषद्को कार्यालयमा बसेको बैठकमा बारा घटना र त्यसले पार्न सक्ने सुरक्षा चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनु भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा अवस्था र त्यसले पार्न सक्ने प्रभावका बारेमा जानकारी गराउनु भएको थियो ।

हिजो बारामा जेन–जी युवा र एमालेका कार्यकर्तावीच झडप भएपछि सिमरामा आज पनि प्रदर्शन भएको थियो ।

साथै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधन सहित स्वीकृत गरि राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको परिषद्को सचिवालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षासचिवलगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button