तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमको आन्तरिक स्वायत्ततामा मन्त्रालय बाधक बन्दैन : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल टेलिकमको आन्तरिक स्वायत्ततामा मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ ।

मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज टेलिकमको बिलिङ प्रकरणबारे आएका विवाद सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन बुझ्नु हुँदै टेलिकमको बिलिङ प्रणाली, खरिद सम्झौतामा मन्त्रालयको कुनै प्रकारको हस्तक्षेप नहुने बताउनु भएको हो ।

मन्त्री खरेलले प्रतिवेदनको राय सुझावलाई आगामी दिनमा हुने खरिद प्रक्रियाहरूमा समेत सहयोगी दस्ताबेजका रुपमा कार्यान्वयन गर्ने पनि बताउनुभयो ।

त्यस अवसरमा छानविन समितिका संयोजक मणिराम गेलालले टेलिकमको बिलिङ प्रणालीको नयाँ ठेक्काको सम्पूर्ण प्रक्रियामा कुनै बाधा नपर्ने गरी प्रतिवेदन पेश गरिएको बताउनुभयो ।

प्रतिवेदनमा नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा स्थापित हुन, सेवाग्राहीका व्यक्तिगत विवरण सुरक्षित रहने अवस्था सुनिश्चित गर्न प्रविधिमा निरन्तर अनुसन्धान, बिलिङ प्रक्रिया सहज स्थानान्तरण गर्नुपर्ने लगायतका नीतिगत सुधार र निर्णयका लागि सुझावहरू दिइएको समिति संयोजक गेलालले जानकारी दिनुभयो ।

टेलिकमको बिलिङ प्रकरणबारे आएका विवाद र अख्तियारको चासो भएकाले यस सम्बन्धमा मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा २१ दिनको समय सीमासहित गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button