तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत मैत्री बस सेवा: आवागमन सुरक्षित र व्यवस्थित बन्दै

कञ्चनपुर। नेपाल–भारतबिचको मैत्री सम्बन्ध सुदृढ पार्ने र यात्रीहरूको आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालनमा आएको नेपाल भारत मैत्री बस सेवाले यात्रीहरूलाई सहजता पुर्‍याएको छ।

सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगर बसपार्कदेखि भारतको देहरादुन तथा राजधानी नयाँ दिल्लीसम्म यो सेवा सञ्चालनमा आएपछि आवागमन सुरक्षित र व्यवस्थित बन्दै गएको छ । 

नेपाल भारत मैत्री बस सेवा सञ्चालनमा आएपछि यात्रीहरूको दैनिक यात्रा सहज बनेको छ । महेन्द्रनगरदेखि भारतका दिल्ली, देहरादून लगायत सहरसम्म नियमित बस सेवा सञ्चालनमा छ । यस सेवामा नेपाल र भारत दुवै देशका बसहरू रहेका छन्, जसमा भारत सरकार अन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसहरू समेत सञ्चालनमा छन् ।  

यो सेवा सुरु हुनु अघि यात्रीहरूलाई निकै असुविधा थियो । अनियमित रूपमा चल्ने सवारी साधनमा यात्रा गर्दा सुरक्षाको अभाव, मनलाग्दी भाडा असुली, सीमामा झन्झट र ठगी तथा लुटपाटका घटना धेरै हुने गर्दथे । तर, नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएपछि ती समस्या घटेका छन् ।  

निश्चित समय र निश्चित मार्गमा चल्ने बसले यात्रीहरूलाई सुरक्षित र नियमित यात्रा सुनिश्चित गरेको छ । सरकारी नियमनमा सञ्चालन भएकाले भाडा पनि निश्चित छ र यात्राको सुरक्षामा विश्वास बढेको छ । यसका साथै अधिकांश यात्रीहरू नेपाली नै हुने भएकाले पनि यात्रा विश्वसनीय हुने गर्दछ । सुदूरपश्चिमको महेन्द्रनगरबाट सञ्चालित यो सेवा प्रभावकारी बनेको छ भने नेपाल–भारतका केही अन्य सीमा नाकाहरू र काठमाडौँबाट पनि मैत्री बस सेवा सञ्चालनमा रहेको छ । 

नेपाल भारत मैत्री बस सेवाले रोजगारी, उपचार, अध्ययन, व्यापार, पर्यटन र तीर्थ यात्राका लागि नेपाल भारत आवागमन गर्ने यात्रीहरूलाई निक्कै फाइदा पुर्‍याएको छ । 

आवागमन सहज भएसँगै दुई देशबिचको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध अझ घनिष्ठ भएकोले यो सेवा अत्यन्तै उपयोगी बनेको छ । यसले जनस्तरमा निकटता बढाउनुका साथै कूटनीतिक सम्बन्धमा पनि सकारात्मक सन्देश पुर्‍याएको छ । यातायात व्यवसायीहरूले यो सेवालाई अझै व्यवस्थित र मर्यादित बनाउनु पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button