तपाईँ सुन्दै हुनुहुन्छः

बघौडा हुलाकी सडकअन्तर्गत सिधनियाघाटमा पक्की पुल निर्माण तीव्र, आधाभन्दा बढी काम सम्पन्न

बाँके । बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा एक अर्ब १९ करोड लागतमा निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अघि बढेको छ। करिब ११ मिटर चौडाइको दुई लेन पुल तयार भएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमन समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

हालका साँघुरा पुलका कारण सवारीसाधनले पालो कुर्नुपरेर नदी पार गर्नुपर्ने बाध्यता स्थानीयको प्रमुख समस्या बनेको थियो। नयाँ संरचना निर्माणपछि सो समस्या हट्ने विश्वास व्यक्त गर्दै राप्ती सोनारी–७ का वडा अध्यक्ष रामलखन थारुले भने, “काम धमाधम भइरहेको छ, अब चाँडै सहज यात्रा गर्न पाउनेछौँ।”

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी असारभित्र पुल तयार पार्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

सिधनियाघाटमा करिब १५ वर्षअघि बनेको पुल साँघुरो भएपछि नयाँ संरचना निर्माण थालिएको हो। २०७९ माघ १० गते तत्कालीन सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो।

नयाँ संरचनामा करिब ७०० मिटर लामो पुल, १,४८० मिटर एप्रोच सडक र करिब ४ किलोमिटर नदी नियन्त्रणका काम एकैपटक सम्पन्न गर्ने योजना रहेको योजना कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button