सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौँ । सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मर्चवारी गाउँपालिका रूपन्देहीको नाम र केन्द्र परिवर्तन गर्ने पनि निर्णय भएको जानकारी दिनुभयो ।
साविकको मर्चवारी गाउँपालिकाको नाम मर्चवारीमाई गाउँपालिका र पालिकाको केन्द्र वडा नं. ४ खैरा कायम गर्ने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले भिसा नियमित नगरी नेपालमा बसोबास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले बुझाउनुपर्ने दस्तुरहरू मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले दिगो र समावेदी परियोजनाका लागि विश्व बैङ्कबाट प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति गर्ने, सशस्त्र प्रहरी चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल, नेपालको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाली सेनाका दुईजना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्