जनकपुरधाममा विवाह पञ्चमीको तयारी जारी, भोली देखि विधि शुरु हुँदै
जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ सप्ताहव्यापी रुपमा मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
भोली नगर दर्शनबाट शुरु हुने श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवका लागि मंन्दिरक्षेत्रको सरसफाइका साथै जानकी मन्दिर, रंगभूमि मैदान बाह्र बिघामा आकर्षक पण्डालको निर्माण गर्ने काम भइरहेको जानकी मन्दिरले जनाएको हो । यसका साथै मन्दिरमा बिजुली बत्ती जडान भइरहेको छ ।
विवाह पञ्चमीको मूल कार्यक्रमहरू जानकी मन्दिर तथा बाह्र विघा रङ्गभूमि मैदान क्षेत्रमा हुने गरेको छ । यसपटक विवाह पञ्चमीमा कुनै पनि सरकारको तर्फबाट सहयोग प्राप्त नभएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो । विगतका वर्षहरुमा सहयोग हुने गरेका थिए ।

प्रत्येक वर्ष झैँ यस वर्ष भारतको अयोध्या, ऋृषिकेश, हरिद्वार सहितका धार्मिक तीर्थ स्थलबाट ठूलो सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, भिक्षु तथा भिक्षुणीहरू जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

सप्ताहव्यापी रुपमा मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत मङ्सिर ४ गते भोली बिहीबार नगरदर्शन, पर्सी ५ गते शुक्रवारका दिन फूलबारी लिला, मङ्सिर ६ गते शनिवारका दिन धनुषयज्ञ, मङ्सिर ७ गते आइतबार तीलकोत्सव, मङ्सिर ८ गते सोमवार मटकोर, मङ्सिर ९ मङ्गलवार स्वयंम्बर तथा शुभ विवाह तथा मङ्सिर १० गते बुधवार रामकलेवा विधि सहित यसवर्षको विवाहपञ्मी समापन गरिने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाइने श्री सीतामा विवाह पञ्चमीको मेला भर्नका लागि नेपाल तथा भारतका विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउने गरेका छन् ।
श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवका लागि शान्ति सुरक्षाको तयारीमा स्थानीय प्रशासन लागिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनु भएको छ । जनकपुरधामको पञ्चकोशी जीर्ण अन्तरगृह परिक्रमाको मरम्मत प्रमुख जिल्ला अधिकारीको पहलमा जनकपुरधाम उपमहानगरपालिकाले गरिरहेको छ ।

उता विवाह पञ्चमी मेला हुनेभिडलाई ध्यानमा राखेर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन गर्ने काम धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्