इस्लामिक कला दिवसमा न्यायाधीश ज्ञवालीको आग्रह—कला–संस्कृति संरक्षणमा गम्भीर बनौँ
बाँके। उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवालीले कला, संस्कृति र संस्कारलाई समुदायको आधारभूत पहिचानका रूपमा जोड्दै यसको संरक्षण र संवर्द्धनमा सबैलाई गम्भीर बन्न आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा ‘द मदर फाउण्डेशन’ र ‘नारी विकास केन्द्र’द्वारा नेपालगन्जमा आयोजित कला प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले कला र संस्कृतिलाई छुट्याएर हेर्न नसकिने बताउनुभयो।

उहाँले समाजको गहना मानिने कला–संस्कृतिलाई संरक्षण नगरे गुम्ने जोखिम बढ्ने उल्लेख गर्दै नेपालका विविध कलात्मक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्ने अभियान आवश्यक भएकोमा जोड दिनुभयो।
कार्यक्रममा ‘द मदर फाउण्डेशन’का संस्थापक तथा पूर्व न्यायाधीश डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले नेपालका विविध धर्म–संस्कृतिमा आधारित कलाकृतिहरू विश्वसमक्ष पुर्याउन आफूहरू सक्रिय रहेको जानकारी दिनुभयो। नेपालगन्जमा जन्मिएको व्यक्ति भएकाले यहाँको कला–संस्कृतिलाई वैश्विक पहिचान दिलाउनु आफ्नो दायित्व रहेको उहाँको भनाइ थियो।

सो अवसरमा कला, कानुन, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्याएको सम्मानस्वरूप वरिष्ठ कलाकार श्यामानन्द सिंह, वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवाली, वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी र पत्रकार राकेशकुमार मिश्रलाई सम्मान गरिएको थियो।
युनेस्कोले २०१९ मा प्रत्येक वर्ष नोभेम्बर १८ लाई ‘अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस’का रूपमा घोषणा गरेपछि नेपालगन्जमा पहिलो पटक यस वर्ष विशेष उत्साहका साथ दिवस मनाइएको हो। प्रदर्शनीमा दृश्यकला, वास्तुकला, सुलेखन, चित्रकला, माटो कला तथा पाककलालगायत विभिन्न धर्म–संस्कृतिसँग जोडिएका कलाका नमूनाहरू प्रदर्शन गरिएको थियो।
आयोजकहरूले कला संरक्षण, सामाजिक सद्भाव र सांस्कृतिक एकता प्रवर्द्धनमा यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।








प्रतिक्रिया राख्नुहोस्