तपाईँ सुन्दै हुनुहुन्छः

बागमती किनारका बेवारिसे सवारीसाधन हटाउन सुरु

काठमाडौँ । बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रका नदी किनारमा बेवारिसे अवस्थामा रहेका सवारीसाधन हटाउन थालिएको छ ।

त्यस क्रममा आज गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरीचौकी नजिक रहेका सवारीसाधनलाई हटाइएको छ । 

सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्नु भई नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारीसाधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । सोही आधारमा आजदेखि ती गाडीहरू हटाउन थालिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

जम्बुडाँडा क्षेत्रमा करिब १२० मिटर क्षेत्रमा समस्या भएको छ । यहाँ ढल फुटेर सडकमा क्षति पुगेको छ ढल बागमती नदीमा सिधै मिसिएको छ । यहाँ ढल मर्मत पनि सुरु गरिएको जनाइएको छ । साथै, गुह्येश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदीमा थुप्रिएको बालुवा तथा फोहर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button