एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताउनुभएको छ । उहाँले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताउनुभयो । उहाँले देशले सामना गरिरहेको राजनीतिक सङ्कट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनःस्थापना जिकिर गर्नुभयो ।
महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
देशलाई संवैधानिक बाटोमा हिँडाउनको लागि प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने महासचिव पोखरेलको धारणा थियो । भदौ २३–२४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उहाँले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले विचारका आधारमा मुलुक ध्रुवीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताउनुभयो । उहाँले आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्