बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैया बजारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बिहान करिब ७:२० बजे कोहलपुरबाट काठमाडौँतर्फ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आइरहेको वा. प्र. ११४५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना घटेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, पुनर्वास–९ का ४४ वर्षीय कृष्ण घर्ती क्षेत्री गम्भीर घाइते भएका थिए। हाल बर्दिया गुलरिया नगरपालिका–६, बुद्धटोलमा बस्दै आएका घर्तीलाई तत्काल उद्धार गरी नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ८:४५ बजे चिकित्सकहरूले उनलाई मृत्यु घोषणा गर्नुभएकाे हाे।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र बस चालकलाई अगैया प्रहरी चौकीको नियन्त्रणमा राखी सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्