भेरी अस्पतालमा १४ महिना सीटी स्क्यान सेवा ठप्प
बाँके। पश्चिम नेपालका निम्न तथा मध्यम आयस्तरका नागरिकको प्रमुख आश्रय भेरी अस्पतालमा १४ महिनादेखि ‘सीटी स्क्यान’ सेवा ठप्प छ। सेवा नहुँदा दैनिक २०–२५ जना बिरामी निजी अस्पताल जान बाध्य छन्, जसले उनीहरूमा आर्थिक बोझ थपिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार १३ वर्षदेखि सेवा दिइरहेको पुरानो १६–स्लाइस ‘सीटी स्क्यान’ मेसिन साउन १३ गतेदेखि बिग्रिएर बन्द भएको हो। मर्मतका लागि एक करोड ३० लाख रुपैयाँ लाग्ने र मर्मतपछि पनि सञ्चालनको सुनिश्चितता नदिइएको कारण पुरानो मेसिनमा पुनः लगानी गर्नु औचित्यहीन रहेको अस्पतालले जनाएको छ।
डा. सुवेदीले भन्नुभयो, “नयाँ मेसिनहरूले गर्न सक्ने धेरै परीक्षण यसले गर्न सक्दैनथ्यो। मर्मत खर्च ठूलो, सञ्चालन निश्चित छैन। दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था छ।”
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मन्त्रालयलाई करिब १० पटक अनुरोध पत्र पठाए पनि सुनुवाइ नहुँदा समस्या झनै गहिरिएको बताउनुभयो। सरकारले हाल १२८–स्लाइसका आधुनिक ‘सीटी स्क्यान’ मेसिन जडान गर्ने मापदण्ड बनाएको भए पनि भेरी अस्पतालमा कहिले नयाँ मेसिन आउने हो भन्ने अनिश्चितता छ।
यस कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएर आउने बिरामीहरू थप समस्या झेल्न बाध्य छन्। अस्पतालले गुणस्तरीय सेवा दिन आधुनिक मेसिन अत्यावश्यक भएको उल्लेख गर्दै संघीय सरकारसँग यथाशीघ्र समाधान खोज्न आग्रह गरेको छ।







प्रतिक्रिया राख्नुहोस्