पहाडी जिल्लामा मोटा र मध्यम धानको चामलको विक्री घट्यो
नेपालगन्ज । पहाडी जिल्लामा मोटा र मध्यम धानको चामलको माग कम हुँदै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा पुरानो चामल स्टक रहेको छ । खाद्यको नेपालगन्जमा रहेको गोदाममा अहिले पनि २२ हजार क्विन्टल चामल स्टक रहेको छ । गत वर्ष खरिद गरेको धानको चामल अहिलेसम्म बिकेको छैन ।

खाद्यका नेपालगन्ज प्रमुख रामशरण लामिछानेले पहाडमा पनि स्टिम जिरा र बासमती चामलको माग बढेकाले मोटा र मध्यम चामको माग कम भएको बताउनुभयो । आफ्नै उत्पादनले खान नपुग्ने पहाडी जिल्लाका बासिन्दालाई लक्षित गरेर बर्षेनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेर चामल बनाई पठाउने गर्दछ । तर, गत वर्षदेखि खाद्यले पठाएको मोटा र मध्यम धानको चामल बिक्न कम भएको छ ।
‘हाम्रो गोदाममा गत वर्ष किनेको धानको २२ हजार क्विन्टल चामल स्टक छ’, खाद्यका प्रमुख लामिछानेले भन्नुभयो, ‘पहाडमा पनि स्टिम जिरा र बासमति धानको चामलको माग बढेको छ । हामीले त्यो पठाउन सक्दैनौँ । हाम्रो चामल बिकेको छैन ।’
खाद्यका प्रमुख लामिछानेले अब जिल्लामा मात्रै नभएर स्थानीय तहसम्म डिपो राखेर अगाडि बढ्ने योजना बनिरहेको जानकारी दिनुभयो । खाद्यले गत वर्ष ६१ हजार ३१ क्विन्टल चामलको कारोबार गरेको थियो । त्यसमध्येमा कर्णाली प्रदेशका जिल्लाहरूमा २४ हजार ८ सय ९ क्विन्टल पठाइएको थियो । बाँके र बर्दियाका कारागारमा ३४ हजार ५ सय ५२ क्विन्टल र कार्यालयमै आएर २र४ बोरा गरेर २ सय ४० क्विन्टल चामल बिक्री गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्