तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको विपद् प्रतिकार्य डेमोस्ट्रेशन

दोलखा। नेपाली सेनाले शुक्रवार दोलखा सदरमुकाम चरिकोटमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरेको छ । नेपाली सेनाको गरुड दल गणले टुँडिखेलमा सञ्चालन गरेको कार्यक्रममा सदरमुकाम चरिकोट स्थित विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

दोलखा जिल्ला प्राकृतिक प्रकोप र विभिन्न प्रकारका विपद्को हिसाबले जोखिमपूर्ण जिल्लामा पर्ने भएकोले विद्यार्थीहरूको सहभागितामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो । यस्तो कार्यक्रम विभिन्न स्थानमा सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।

कार्यक्रममा आगलागी, ग्यास लिक भएर हुने आगलागी, बिजुलीको पोलमा हुने आगलागी, भूकम्प जस्ता प्राकृतिक प्रकोपका घट्ना र त्यसबाट बच्ने उपायहरूको बारेमा डेमोस्ट्रेशन गरिएको थियो । त्यसैगरी प्राथामिक उपचारको विधिबारे पनि डेमोस्ट्रेशन गरिएको थियो । 

सो अवसरमा विद्यार्थीहरूले प्राकृतिक विपद्, त्यसको रोकथाम र उद्धारको सुरक्षित विधिको बारेमा नाटक प्रदर्शन गरेका थिए । 

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवाल, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, सशस्त्र प्रहरी नायव उपरीक्षक, पत्रकार, नागरिक समाजका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button