सहिदभूमि गाउँपालिमा तिन दिन स्थानीय बिदा
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।

कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा तथा कात्तिक ३० र मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वाडाङ्मीको अवसरमा बिदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैङ्क तथा संघ–संस्थालाई जानकारी गराइएको छ ।
२०३६ साल कात्तिक २२ गते देखि २९ गतेसम्म भएको हत्याकाण्डमा १६ स्थानीय व्यक्तिको हत्या भएको थियो । सरकारले २०७४ साल पुषमा सहिद घोषणा गरेको थियो । उहाँहरूको सम्झनामा प्रत्येक बर्ष कात्तिक २२ गते देखि २९ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।
त्यस्तै वाडाङ्मी पर्व यो क्षेत्रका राई जातीको मुख्य पर्व हो । कार्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलवार सहिदभूमि गाउँपालिका–३ को साकेन्वाथानमा जम्मा भएर पूजा गरेपछि सुरु हुने यो पर्व एक हप्ता सम्म सञ्चालन हुन्छ । यो पर्वको अवसरमा प्रत्येक वर्ष बिदा दिने गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्