तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरका १७५० बालबालिका जोखिममा, सहायतामूलक परियोजना प्रारम्भ

बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा बालअधिकार संरक्षणका लागि नयाँ परियोजना सुरु गरिएको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास मञ्च (एसडिफ) ले सुरु गरेको परियोजना मार्फत नरैनापुरका बालबालिकाको पोषण, शिक्षा, बालसुरक्षा र बालहिंसा न्यूनीकरणमा काम हुने भएको हो।

नरैनापुरका धेरै बालबालिका हाल पनि कुपोषण, विद्यालय छोडाइ, बालश्रम र बालविवाहको जोखिममा रहेका अवस्थामा १ करोड ५ लाख रुपैयाँभन्दा बढीको बजेटमा ६ महिनासम्म कार्यक्रम सञ्चालन गरिने एसडिफले जनाएको छ।

एसडिफका परियोजना संयोजक भिम सार्कीले समुदायसँगै साझेदारीमा काम गर्दै बालमैत्री वातावरण निर्माण मुख्य उद्देश्य रहेको बताउनुभयो। वल्र्ड भिजनका जिल्ला संयोजक तिलक केसीका अनुसार नरैनापुरमा करिब १ हजार ७५० बालबालिका अझै उच्च जोखिममा छन्।

परियोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बालबालिकालाई भोक, भय र हिंसाबाट मुक्त वातावरण बनाउने पालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी बालबालिकाले शिक्षाका अवसर नपाएको, आर्थिक अभावका कारण पढाइ रोकिएको जस्ता समस्याहरू साझा रूपमा व्यक्त गरेका थिए। एसडिएफका कार्यक्रम संयोजक बृजेन्द्र यादवले बालबालिकाको अधिकार र भविष्य सुरक्षित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

घोषणासहित सम्पन्न कार्यक्रममा उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, वडा अध्यक्षहरू, स्वास्थ्य तथा प्रशासनका प्रतिनिधि, बाल सञ्जालका पदाधिकारीलगायत सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button