यातायात क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिन व्यवसायीको माग

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष बिजय बहादुर स्वाँरले नीजि क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन माग गर्नु भएको छ । बिहीबार पोखरामा सम्पन्न पोखरेली ट्याक्सी सेवा प्रालिको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष स्वाँरले १३ खर्ब भन्दा बढी लगानी रहेको यातायात क्षेत्रको भविष्य सुरक्षित गर्न उद्योगको रूपमा मान्यता दिनुपर्ने माग गर्नु भएको हो ।
उहाँले भन्नुभयो“ देशभर १३ खर्ब रुपैयाँ भन्दा बढी लगानी यस क्षेत्रमा भइसकेको छ र १५ लाख भन्दा बढी नेपाली प्रत्यक्ष रोजगारमा छन् भने तीनका परिवार जोड्दा ४० लाख नेपालीको जीवन यो क्षेत्रसँग गाँसिएको छ । ” यी सबैको भविष्य सुरक्षित गर्न सरकारको स्पष्ट नीति आवश्यक भएको बताउँदै उहाँले राष्ट्रिय उद्योगको रूपमा यातायात क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारप्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो “सरकार हाम्रो अभिभावक हो, हामी सहकार्यका लागि तयार छौँ, तर सरकारले हामीलाई पेलिरह्यो भने हामी हाम्रो शक्ति देखाउन बाध्य हुनेछौँ, जुन वेला दुर्घटना निम्तिन सक्छ । ” उहाँले अवैध रूपमा सञ्चालनमा रहेका विदेशी राइडसेयरिङ एपहरूका विरुद्ध आफूहरू उठेको स्पष्ट गर्दै अब भने पोखराबाट सुरु भएको नेपाली एप मुभईन एपलाई सबैले प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । आफूहरू प्रविधि विरोधी नभएको बताउँदै अध्यक्ष स्वाँरले पोखरामा तयार पारेको ‘मुभइन’ एपलाई देशमै पहिलो कानुनी र घरेलु राइडसेयरिङ मोडलका रूपमा प्रस्तुत गर्दै यसको देशव्यापी प्रयोग बढाउन आग्रह गर्नुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सिन्डिकेट तोड्ने नाममा सरकारले २०७४ सालमै यातायात क्षेत्रलाई भत्काएको आरोप लगाउनुभयो । वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले व्यवसायी फुटेर नभई जुटेर अघि बढ्न सुझाव दिँदै स्थानीय तहको निर्वाचन र यातायात व्यवसायीहरू माथि कुनै राजनीतिक विभाजनमा नपार्न आग्रह गर्नुभयो । सवारी ऐनअनुसार रातो प्लेटले यात्रु बोक्न नपाउने उनले जनाउनु भयो । महासङ्घका सचिव भानुभक्त बरालले क्षेत्र गम्भीर सङ्कटमा परेको उल्लेख गर्दै अब सबै सरोकारवाला एउटै टेबलमा बस्नुपर्ने बेला आएको जनाउनु भयो ।
ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारीले महासङ्घ कमजोर बनेपछि सरकारले यातायात क्षेत्रमा हस्तक्षेप गर्न थालेको गुनासो गर्दै सञ्चारमाध्यमले व्यवसायीको पीडा नउठाएको भन्दै पत्रकारहरूसँग पनि आक्रोश व्यक्त गर्नुभयो । गण्डकी प्रदेश संयोजक केदार पौडेलले सिन्डिकेट तोड्ने नाममा व्यवसायीलाई प्रालिमा ल्याएर पीडा थपिएको उल्लेख गर्दै सवारी ऐन संशोधनको माग गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ट्याक्सी सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सुझाव दिए दिनुभयो । मजदुर नेता किरणबाबु पन्तले व्यवसायी र मजदुरबीच सहकार्य आवश्यक भएको बताउनु भयो । कार्यक्रममा ‘मुभइन’ एपको डेमो प्रस्तुत गरिएको थियो ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले कम्पनी प्रविधिमैत्री बन्दै गएको बताउँदै भन्नुभयो, “अब हामी आफ्नै एपमार्फत यात्रु सेवामा थप सहजता ल्याउँदैछौं।” सांस्कृतिक रङ्गमा समेटिएको कार्यक्रममा हिमाली सांस्कृतिक परियार समूहले नृत्य प्रस्तुत गरेको महासचिव युवराज भट्टराईले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्