पोखरामा अन्तर्राष्ट्रिय इन्डुरो रेस सुरु, ८ देशका खेलाडी पोखरामा

पोखरा । पोखरामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता आज (बिहीबार) देखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ८ देशका खेलाडीहरू सहभागी हुनु भएको आयोजक डाउनहिल डष्क प्रालिले जनाएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्दै पोखरा साहसिक खेलकुदको केन्द्र भएको दाबी गर्नु भयो । पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरू भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको उहाँको भनाई थियो । विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्र्याकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको बताउँदै मेयर आचार्यले ड्रागन बोट रेस, क्रस कन्ट्री लगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको दाबी गर्नुभयो ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी भएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनु भयो । प्रतियोगितामा सहभागिता हुने गरी १३ देशका खेलाडीहरूले नाम दर्ता गराए पनि प्राविधिक कारणवश सबै देशका खेलाडीहरू सहभागी नभएको उहाँले जनाउनु भयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्दै पोखरा १३ का वडाध्यक्ष किरण बरालले ’पोखरा इन्डूरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताउँदै यस खेलको माध्यमबाट यस क्षेत्रको खेल पर्यटन प्रवर्द्धन हुने जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्र्याकमा प्रतिस्पर्धा हुदैछ ।
समुन्द्री सतहबाट १ हजार ३ सय ६० मिटर उचाइमा रहेको आर्वा–बिजय डाँडामा आयोजक डाउनहिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो सङ्ख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । नेपालको पहाडी भेगमा हरियो वनजंगल सहित हिमश्रृखलाहरु समेत अवलोकन गर्न पाइने हुँदा विदेशीहरूले यस इभेण्टलाई छुट्टै ढंगले हेरेको पाइन्छ ।







प्रतिक्रिया राख्नुहोस्