इलाममा पहिरोपीडित लिम्बु परिवारलाई सेनाद्वारा अस्थायी घर हस्तान्तरण
इलाम । गत असोज १८ र १९ गतेको अविरल वर्षाबाट इलाम नगरपालिका–६ बालन गाउँका महेन्द्र लिम्बु पहिरोमा परेर बेपत्ता भएका थिए । सोही घटनापछि नेपाली सेना रणशार्दुल गणका सकलदर्जाले लिम्बु परिवारका लागि दुई कोठे अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
घर हस्तान्तरण समारोहमा रणशार्दुल गणका गणपति प्रमुख सेनानी प्रलाद घलेले घरको चाबी हस्तान्तरण गर्दै सेनाले सदैव विपद्–पीडित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार, प्राकृतिक विपद् र संकटका समयमा नेपाली सेनाले उद्धार, राहत र पुनःस्थापनामा निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा पनि मानवीय सेवामा अग्रसर रहनेछ ।
सेनानी घलेले विपद् आइपर्ने बित्तिकै नेपाली सेनाका टोलीहरू देशभर पुगेर पहिरो पन्छाउने, घाइते उद्धार गर्ने र राहत वितरणमा अग्रपंक्तिमा खटिँदै आएको बताए । उनले इलामसहित पहाडी जिल्लाहरूमा सेनाको उद्धार तथा पुनःस्थापना कार्य निरन्तर चलिरहेको जानकारी दिए ।
घर हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित थिए ।








प्रतिक्रिया राख्नुहोस्