तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनदेखी विद्युत् आपूर्ति बन्द

अदानचुली (हुम्ला)। सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो ।

अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।

मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताउनुभयो । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताउनुभयो ।

मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर निर्देशन दिनुुभएको छ । शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button