छोराको न्याय र उपचारको आशामा भौँतारिँदै आमा समुना
रौतहट । रौतहटको मौलापुर नगरपालिका–३ गम्हरियाका १६ वर्षीय निजर कुशवाहा आज पनि न्याय र उपचारको आशामा भौँतारिँदै छन् । गत असार ६ गते वडाध्यक्ष महेश महतो कोइरीले चलाएका मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका निजरको अवस्था अझै नाजुक छ, तर उपचार खर्च नपाउँदा परिवार आर्थिक र मानसिक दुवै पीडामा छ ।

स्थानीय वडाध्यक्ष कोइरीले चलाएको मोटरसाइकलले निजरलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो । घटनापछि स्थानीय र प्रहरीको सहमतिमा उपचारपछि क्षतिपूर्ति दिने भनिए पनि चार महिनासम्म पनि प्रत्यक्ष सहयोग नपाएको पीडित परिवारको आरोप छ ।
निजरकी आमा समुना देवी कुशवाहाले आँखाभरि आँसु पार्दै भन्नुभयो, “छोराको उपचारका लागि पाँच कठ्ठा जमिन बेच्यौँ, तर हालत सुध्रिएको छैन । अस्पतालमा पैसा छैन, अब वडाध्यक्षले पनि खर्च दिएनन् ।”
प्रहरीमा पुगेपछि पनि न्यायको आशा कमजोर हुँदै गएको आमा समुनाले बताइन् । इलाका प्रहरी कार्यालय मौलापुरमा पुगेकी आमालाई “गाली गरेर धपाइएको” भन्दै उहाँले आक्रोश पोख्नुभयो । “अब कोसँग न्याय माग्ने ? यहीँ राखिदिन्छु छोरा,” भन्दै समुना देवी बुधबार गौरस्थित जिल्ला प्रहरी कार्यालयको गेटमै रोइरहेकी थिइन् ।
त्यसपछि घटनामा निष्पक्ष छानबिन र वडाध्यक्षविरुद्ध कारबाहीको माग गर्दै स्थानीयवासी र पीडित परिवारले गौरमा शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन् ।
प्रदर्शनमा स्थानीय आफन्त, सर्वसाधारण र पीडित परिवारका सदस्यहरूको उपस्थिति थियो । उहाँहरूले वडाध्यक्षबाट तत्काल उपचार खर्च उपलब्ध गराउन, घटनाको निष्पक्ष अनुसन्धान गर्न र कानूनी कारबाही सुनिश्चित गर्न माग गर्नुभएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी विष्णु प्रदीप बस्यालले भन्नुभयो, “दुर्घटनामा परेका किशोर हाल पनि शारीरिक रूपमा असहज अवस्थामा छन् । पिडकबाट उपचार खर्च दिलाउने र पीडितलाई न्याय दिलाउने हाम्रो प्रतिबद्धता छ ।”
यस विषयमा बुझ्न वडाध्यक्ष कोइरीसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।








प्रतिक्रिया राख्नुहोस्