तपाईँ सुन्दै हुनुहुन्छः

देशको गौरव बढाउने खेलाडीलाई निःशुल्क शिक्षा–स्वास्थ्य सुविधा दिन आग्रह

पोखरा। प्रदेश खेलकुद परिषद् गण्डकीले अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेशस्तरमा पदक प्राप्त खेलाडीहरूलाई निःशुल्क शिक्षा र औषधि उपचारमा सहुलियत उपलब्ध गराउन सबै स्थानीय तहहरूलाई आग्रह गरेको छ । 

परिषद्ले कार्तिक २६ गते पत्रमार्फत गण्डकी प्रदेशका ११ वटै जिल्लाभित्र रहेका ८५ वटा स्थानीय तहहरूलाई अनुरोध गर्दै खेल क्षेत्रमा योगदान पुर्‍याएका वर्तमान तथा पूर्व खेलाडी, प्रशिक्षक (कोच), निर्णायक (रेफ्री) तथा गण्डकी प्रदेश सरकारबाट पदक प्राप्त व्यक्तिहरूलाई अध्ययन र स्वास्थ्य उपचारमा विशेष सुविधा दिन आग्रह गरेको हो ।

खेलाडी तथा उनीहरुका छोराछोरीलाई पालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू र त्यहाँका क्याम्पसहरूमा अध्ययनका लागि निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै, पालिका भित्रका सरकारी तथा निजी अस्पतालहरूमा उपचारका क्रममा इमर्जेन्सी र सामान्य प्रकृतिका स्वास्थ्य सेवामा निःशुल्क वा सहुलियत दरमा सुविधा प्रदान गर्न अनुरोध गरिएको छ ।

खेलाडीहरूले देश र प्रदेशको गौरव बढाएका कारण उनीहरूलाई सम्मान स्वरूप शिक्षा र स्वास्थ्यमा सहजता पुर्‍याउने उद्देश्यले यो निर्णय गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो । परिषद्ले सो पत्रको बोधार्थका लागि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय, र सबै जिल्ला खेलकुद विकास समितिहरूलाई समेत पठाएको छ ।  जिल्ला समितिहरूले आफ्ना जिल्लास्थित पालिकाहरूसँग समन्वय गरी सो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

खेलकुदको माध्यमबाट जिल्ला, प्रदेश, राष्ट्रको नाम पहिचान गर्न योगदान दिने खेलाडीहरूलाई सबैले हौसला र प्रोत्साहन गर्नुपर्ने उहाँले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button