तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हराउँदै गोरुगाडा : प्रविधिको छायाँमा लोप हुँदै परम्परागत साधन

बाँके । प्रविधिको तीव्र विकाससँगै बाँकेमा एक समय जीवनशैली र संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने गोरुगाडा संस्कृति अब लोप हुने अवस्थामा पुगेको छ। कुनै बेला ग्रामीण भेगका प्रायः घरमा अनिवार्य रूपमा देखिने गोरुगाडा अहिले विरलै मात्र देख्न सकिन्छ।

कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै परम्परागत गोरुगाडाको प्रयोग घट्दै गएको किसानहरूको भनाइ छ। कोही यसलाई प्रविधिको सहज पहुँच र सवारीसाधनको विकल्पसँग जोड्छन् भने, कोही स्थानीय जातका गाई–गोरु घट्दै जानु पनि यसको मुख्य कारण मान्छन्।

डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसान बंशीलाल मौर्य आधुनिक कृषि यन्त्र र सवारीसाधन आएपछि यसको आवश्यकता नै नरहेकाे बताउनुहुन्छ । “पहिले गाउँका हरेक घरमा गोरुगाडा हुन्थ्यो। अहिले गाउँभरि एउटा मात्र बाँकी छ। आधुनिक कृषि यन्त्र र सवारीसाधन आएपछि यसको आवश्यकता नै रहेन।” उहाँकाे भनाइ छ ।

कुनै समय गोरुगाडा अनाज ओसार्नेदेखि बिरामीलाई अस्पताल पुर्‍याउने ‘एम्बुलेन्स’को रूपमा प्रयोग हुन्थ्यो। अहिले भने बालबालिकाका लागि यो केवल कौतुहलको विषय बनेको छ।

डुडुवा–२ का करिम खाँ भन्नुहुन्छ, “पहिले गोरुगाडाबाट पराल बोकेर जाँदा हेर्न भीड लाग्थ्यो। अहिले त्यो दृश्य हराइसक्यो। ट्र्याक्टर र थ्रेसर आएपछि गोरुगाडाको स्थान प्रविधिले लिएको छ।”

स्थानीयहरूका अनुसार गोरुगाडा केवल कृषि प्रयोजनका लागि मात्र नभई जन्ती लैजाने, मलामी पुग्ने, हाटबजार र मेलापातमा आवतजावत गर्ने मुख्य साधन थियो। अहिले भने यो परम्परा इतिहासका पानामा सीमित हुँदै गएको छ।

गोरु अभाव हुनु र त्यसकाे ठाउँमा थ्रेसरजस्ता आधुनिक उपकरणका कारण गोरु घुमाएर दाइँ हाल्ने, धान स्याहार्ने जस्ता काम पनि हराउँदै गएको किसानहरूको भनाइ छ। कुनै समय सामूहिक रूपमा ‘दाइँ हाल्ने’ परम्परा गाउँको सामाजिक एकताको प्रतीक थियो, तर अहिले त्यो दृश्य पनि विरलै देखिन्छ।

कृषिमा प्रविधिको प्रवेशले उत्पादनमा सहजता ल्याए पनि गाउँघरको पुरानो जीवनशैली, श्रम र संस्कृतिसँग जोडिएको गोरुगाडा र दाइँ संस्कृति भने क्रमशः हराउँदै गएको छ। बाँकेका किसानहरूको मुखमा अहिले यही पीडा झल्किन्छ — “सुविधा त बढ्यो, तर संस्कृतिको आत्मा हरायो।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button