संवैधानिक शून्यता हटाउन हतारमा शपथ लिएको हुँ: मुख्यमन्त्री यादव
'कांग्रेस तयार भए मुख्यमन्त्रीको पद छोड्न तयार छु'
जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा संवैधानिक शून्यता हटाउनका लागि आफूले हतारमा मुख्यमन्त्रीको शपथ लिएको स्वीकार गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले आज जनकपुरधाममा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा आफूलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ फेल खाएपछि सोही धाराको उपधारा ३ प्रयोग गरेर मुख्यमन्त्रीमा नियुक्त गर्नु भएकाले यसलाई कुनै दृष्टिकोणले अनुचित वा असंवैधानिक भन्न नमिल्ने बताउनु भयो ।
उहाँले मधेस प्रदेश सभाको बैठकमा जितेन्द्र सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि उक्त संविधानको धारा १६८ को उपधारा २ स्वतः फेल भएर राजीनामा गर्नुभएकाले उपधारा ३ प्रयोग गर्नु प्रदेश प्रमुखको संवैधानिक दायित्व रहेको बताउनुभयो ।
नेकपा एमालेका संसदीय दलका नेता समेत रहनु भएका मुख्यमन्त्री यादवले नेपाली काँग्रेस मुख्यमन्त्रीका लागि तयार भएको खण्डमा आफूले मुख्यमन्त्री छोडेर समर्थन गर्नका लागि तयार भएको बताउनु भयो ।
उहाँले मधेसमा मुख्यमन्त्रीको कार्यालयको पुर्न निर्माण वा व्यवस्थापन भएपछि आफूले पदभार ग्रहण गर्ने बताउँदै अहिले आफूले अरू मन्त्रालयमा गएर पदभार ग्रहण गर्ने पक्षमा नभएको बताउनुभयो ।
मुख्यमन्त्री यादवले नेपाली काँग्रेसका प्रदेश उपसभापति तथा प्रदेश सरकारका मन्त्री समेत हुनु भएका विरेन्द्र प्रसाद सिंहले राष्ट्रिय झन्डाको अपमान गर्ने काम हुनु निन्दनीय भएको बताउँदै कर्मचारी माथिको हातपातको विषयको कडा रूपमा निन्दा गर्नुभयो ।
उहाँले नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेताको हैसियतले सङ्घीयता, समावेशी सहितको वर्तमान संविधान प्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै एमाले सङ्घीयता विरोधी पार्टी हो भनेर प्रचार गर्नेलाई मधेस जनताले जवाफ दिँदै आएको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा मधेस प्रदेशका विना विभागीय मन्त्री लखनदास तत्मा र राप्रपा तर्फबाट मन्त्री हुनु भएकी कञ्चन विच्छा सहभागी हुनु भएको थियो । तर पत्रकार सम्मेलनमा सङ्घीय समाजवादी पार्टीका तर्फबाट मन्त्री बन्नु भएकी विमला अन्सारी तरन्नुम अनुपस्थित रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्