ठूला आयोजना पूरा गर्न बजेट अभाव हुन दिइने छैन: अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले विगतमा कम रकम विनियोजन भएर सम्पन्न हुन नसकेका ठुला आयोजनाहरूमा रकम अभाव हुन नदिने गरी सरकारले काम अगाडी बढाएको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थमन्त्री खनालले कटौतीमा परेका आयोजनाहरूबाट बचेको बजेट ठुला आयोजनामा परिचालन गर्ने र कतिपय पुनर्निर्माणमा खर्च गरिने बताउनुभयो ।
उहाँले पछिल्लो समय देशमा राजस्व बढेको र पूर्व सरकार हुँदा रोकिएर बसेको अन्तर्राष्ट्रिय सहयोग सुचारु भएको बताउनुभयो ।
अर्थमन्त्री खनालले २०२५ को अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार भन्दा बढी पर्यटक नेपाल आएको र पछिल्लो समय पर्यटक आउने क्रम बढ्न थालेकाले क्षतिग्रस्त होटेल संरचनाहरूको पुनर्निर्माण तीव्र गतिका चलेको जानकारी गराउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीको आयोजनाहरूलाई प्राथमिकतामा राखेको र ठेक्का लाग्न बाँकी तर डिजाइन भइसकेको, टोली गएर छानबिन गरी सकेको तथा नागरिकलाई सहज हुने आयोजना नरोकिने समेत स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खनालले आन्तरिक राजस्व प्रशासन सुधारका लागि योग्यता नपुग्ने कर्मचारी प्रवेश गर्ने प्रक्रिया रोक्ने र योग्यता परिवर्तन गरी विशिष्ट योग्यता तोकेर अगाडी बढ्न लागिएको जानकारी गराउनुभयो ।
अर्थमन्त्री खनालले कानुनमा प्रबन्ध नगरी लिइरहेको स्वकीय सचिव लगायतका सुविधा खोसिएको भन्दै सङ्घीय सांसदको सुविधा कटौतीको विषयमा प्रधानमन्त्री र कानुन मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले ग्रेलीष्टबाट नेपाललाई हटाउन भइरहेका कामहरूबारे अनुगमन भइरहेको र सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारका मुद्दाहरूको कारबाही नभएको जस्ता अन्तर्राष्ट्रिय स्तरको गुनासो समाधान गर्ने गरी काम गरिरहेको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्