तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा जारी यु–१४ फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा

नेपालगञ्ज । नेपालगञ्जमा जारी यु–१४ फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

नेपालगञ्ज रङ्गशालामा आज भएको खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स टिमले वेष्टजोन हाई स्कुललाई २–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औँ मिनेट र आकृति यादवले १६औँ मिनेटमा गोल गर्नुभयो । प्रतियोगिताको उपाधिको लागि नेपालगञ्ज सेन्ट जेभियर्सले होलिल्याण्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । 

यसैगरी छात्रतर्फको फाइनलमा सिद्धार्थ विद्या सदन नेपालगञ्ज र कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कुलले प्रतिस्पर्धा गर्नेछन् । नेपालगञ्ज रङ्गशालामा आजै भएको सेमिफाइनलमा सिद्धार्थ विद्या सदनले एकतर्फी नतिजा निकाल्ने क्रममा ग्रीनपिस मावि कोहलपुरलाई ९–१ ले हराएको छ । सिद्धार्थको जितमा लेकराज भारतीले ह्याट्रिक गर्नुभयो । उहाँले खेलको १५औँ, ३०औँ र ५०औँ मिनेटमा गोल गर्नुभएको थियो । सिद्धार्थका अविशेष चौधरी र कमल परियारले २–२ गोल गर्नुभयो । 

अविशेषले ४६औँ मिनेट र ५०औँ मिनेटमा गोल गर्नुभयो । कमलले ३५औँ र ४१औँ मिनेटमा गोल गर्नुभएको थियो । खेलमा अर्पण बोहराले ४ मिनेट, विनायक हमालले ४३औँ मिनेटमा गोल गर्नुभयो । ग्रीनपिसका रोहनले सुरुआती २ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर, टोलीको अग्रता भने लामो समय टिक्न सकेन ।

अर्को खेलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । कोहलपुर बागेश्वरीको जितमा सोहन जैसीले १०औँ  मिनेटमा गोल गर्नुभएको थियो । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button