सम्झौताभन्दा ८ महिना अघि नै बन्यो पक्की पुल
दैलेख । दैलेखको महावु गाउँपालिका छिर्ने प्रमुख नाका ताराघाट खोला पुल सम्झौताको ८ महिना अगावै नै निर्माण सम्पन्न भएको छ ।

निर्धारित समयमा काम नहुँदा पीडा पोख्ने स्थानीय समय अगावै पक्की पुल निर्माण हुँदा खुसी भएका छन् । सवारी साधनहरू खोलाबाट तार्दै आएका महावुका स्थानीयहरू पुल निर्माण भएपछि थप खुसी भएका हुन् ।
पूर्वाधार विकास कार्यालय दैलेख र आरबी कन्स्ट्रक्सन दैलेखबिच २०८१ वैशाख १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि सम्झौता अवधिभन्दा पहिला नै काम सम्पन्न भएको निर्माण कम्पनी आरवी कन्स्ट्रक्सन दैलेखका सञ्चालक रूपक थापाले जानकारी दिनुभयो । कम्पनीले पूर्वाधार विकास कार्यालय दैलेखसँग ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसामा (भ्याट सहित) पुल निर्माणको सम्झौता गरेको थियो ।
स्थानीयका अनुसार पुल निर्माणअघि महावु गाउँपालिकाबाट दैलेख सदरमुकाम आवतजावत गर्न खोलामै मोटरसाइकल तथा सवारी साधन चलाउनुपर्ने बाध्यता रहेको थियो । पक्की पुल बनेसँगै अब गाउँपालिकाका सबै वडाका बासिन्दालाई सहज आवतजावतको सुविधा हुने महावु गाउँपालिका २ का वडाध्यक्ष प्रकाशराज थापाले बताउनुभयो ।
आरबी कन्स्ट्रक्सनका सञ्चालक थापाले आफ्नो कम्पनीले समय अगावै निर्माण सम्पन्न गर्ने परम्परा रहेको भन्दै आगामी दिनमा गरिने काममा पनि सोही अनुरुप समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यसअघि पनि आफूले जिम्मा लिएका निर्माणको काम समयमा सम्पन्न भएपछि विभिन्न कार्यालयबाट कम्पनी पुरस्कृत हुँदै आएको बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय दैलेखका अन्य योजनाको प्रगति सुस्त हुँदा ताराघाट पुल निर्धारित समयभन्दा अघि निर्माण सम्पन्न हुनु कार्यालयकै लागि सकारात्मक उपलब्धि र प्रगतिको रुपमा हेरिएको कार्यालय प्रमुख प्रवीण कार्की बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्