त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाको वडा नं.५ स्थित खदाङदेखि ल्हाासम्मको मोटर बाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेले बताउनुभयो ।
उक्त आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा आयोजनाका इन्जिनियर शिशिरकुमार गुरुङ, दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र निर्माण कम्पनीका भीमराज न्यौपानेलाई समेत प्रतिवादी बनाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपित विरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ छ पैसा बिगो कायम गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्