तपाईँ सुन्दै हुनुहुन्छः

मनकामनामा आज पञ्चमी जात्रा

गोरखा। प्रसिद्ध तीर्थ स्थल मनकामना मन्दिरमा आज पञ्चमी जात्रा लाग्दछ ।

 गुठी पञ्चमी भनेर चिनिने आजको दिन मनकामना मन्दिरको सबै भन्दा ठुलो पर्व रहेको मन्दिरका मूल पुजारी इन्सानबाबु थापा मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मन्दिरको नियमित पूजासँगै विशेष पूजा हुने गर्दछ । भक्तजनहरूले  धेरै मात्रामा फूलको डोली, पञ्चवोली ल्याउने चलन रही आएको छ । 

मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा शहिदलखन गाउँपालिकाले सूचना निकाली आज सार्वजनिक बिदा दिएको छ ।  गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा हरेक वर्ष गुठी पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिएको पालिकाको भनाई छ । सोमबार पालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयहरूमा समेत स्थानीय बिदा दिएको बताइएको छ ।

पञ्चमीको अवसर पारेर यस क्षेत्रका मानिसहरू मन्दिरमा पूजाको लागि जाने गर्दछन् । पञ्चमीकै दिन विशेष जात्रा लाग्ने, भजनकिर्तन हुने भएकाले मन्दिर परिसरमा भक्तजनहरूको ठुलो भीड हुने गर्दछ । मन्दिर सम्म पुग्नका लागि केबलकार, निजी तथा सार्वजनिक सवारी साधनको प्रयोग गर्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button